काठमाडौं– नेकपा एमालेले घोषणापत्रमा सत्ता गठबन्धनलाई दिशाविहीन भनि टिप्पणी गरेको छ। गठबन्धनले राज्यका अंगलाई अस्तव्यस्त बनाउँदै लगेको एमाले आरोप छ।
‘गएका नौ महिनामा मुलुकका प्रत्येक पक्ष र राज्यका सबै अंगलाई अस्तव्यस्त, सङ्कटग्रस्त र असफल बनाउँदै लगिएको छ’ शुक्रबार जारी गरिएको स्थानीय तह निर्वाचनको घोषणापत्रमा भनिएको छ ‘राजनीतिक हस्तक्षेप र स्वार्थजन्य सेटिङका कारण न्यायालय विवादग्रस्त, अविश्वसनीय र साखविहीन बन्दै गएको छ।’
मुलुकको अग्रगतिको यात्रामा वाधक बनेर खडा भएको यस गठबन्धनबाट मुलुकले अविलम्ब मुक्ति खोजेको घोषणापत्रमा दाबी गरिएको छ।
‘राजनीतिक अवसरवाद, सत्तास्वार्थ र अनैतिक जगमा खडा भएको यो सरकार जति दिन रहन्छ, मुलुकले थप संकट व्यहोर्नु अनिवार्य छ’ घोषणापत्रमा भनिएको छ ‘दलबाट निर्वाचित सांसदहरू दलको निर्देशनमा परिचालित हनु र उनीहरू दलको सामान्य नियन्त्रणमा रहनु बहुदलीय प्रतिष्पर्धात्मक लोकतान्त्रिक प्रणालीको अनिवार्य विशेषता हो। तर आफ्ना सांसदमाथि कारबाही गर्ने अधिकारबाट एमालेलाई बञ्चित गरिएको छ।’
दलिय अनुशासन उल्लङ्घन गर्ने सांसदहरूमाथि नेकपा (एमाले) ले गरेको कारबाहीको सूचना प्रकाशित नगरेर दल विभाजनमा सहयोगी बनेका सभामुखका गैरसंवैधानिक, असंसदीय र पक्षपातपूर्ण हर्कतका कारण संसद समेत महिनौंदेखि अवरुद्ध गर्न परेको घोषणापत्रमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।