काठमाडौं– विमानस्थलको संवेदनशील क्षेत्रमा प्रवेश गरेर विवादमा परेका पत्रकार ऋषि धमलाले प्रेस काउन्सिल नेपालको एक दिने आचारसंहिता कक्षा लिएका छन्।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतका अनुसार आचारसंहिता विपरीत काम गरेको आरोपमा कारबाहीस्वरुप कक्षा लिने उनी पहिलो व्यक्ति हुन्। काउन्सिलले नयाँ अनलाइन दर्ता गर्ने र आचारसंहिता उल्लंघन गर्नेलाई यस्तो कक्षा दिने अभ्यास सुरु गरेको छ।
यो पहिलो चरणको कारबाही भएको बस्नेतले बताए। यसपछि पनि अटेर गरेर आचारसंहिता विपरीत कार्य गरेमा भने थप कडा कारबाही गरिने उनले बताए।
काउन्सिलको कारबाहीस्वरुप एकदिने ‘आचारसंहिता अभिमुखीकरण कक्षा’ लिएका धमलाले अब आचारसंहिता विपरीतको कार्य आफूले नगर्ने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवासमेत उच्चपदस्थ व्यक्तिहरु सवार विमानभित्रै पुगेर धमलाले ‘रिपोर्टिङ’ गरेका कारण काउन्सिलको कारबाहीमा परेका थिए। तीन दिनअघि काउन्सिलले पत्रकार धमलालाई ‘आइन्दा यस्तो कार्य नगर्न’सचेत गराउँदै आचारसंहितासम्बन्धी एक दिने कक्षा लिनुपर्ने निर्णय गरेको थियो।
सोही निर्णय कार्यान्वयन गर्न धमलाले कक्षा लिएका हुन्। उनलाई काउन्सिलका अध्यक्ष बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र काउन्सिलका सदस्य गोपाल बुढाथोकीले कक्षा सहजीकरण गरेका थिए।
अनुमतिबिना विमानभित्र छिरेर ‘रिपोर्टिङ’ गरेका धमालालाई नेपाल वायुसेवा निगमका कर्मचारीले राकेपनि उनले अस्वीकार गरेका थिए। त्यसअघि उनले नेपाल बार एशोसिएसनको बैठक चलिरहँदा भित्र छिरेर लाइभ गरेका थिए।
काउन्सिलले धमलालाई गत चैत २२ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।