काठमाडौं– गृह मन्त्रालयले किरात जनवादी वर्क्स पार्टीका नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ। पार्टीले विभिन्न आरोपमा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ता रिहाइ र कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरिएको जनाइएको छ।
गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले किरात जनवादी वर्क्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया मन्त्रालयले सुरु गरेको जानकारी दिए।
सो पार्टी र त्यसबेला मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्तिबीच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबीच २०७१ साउन ११ गते चियावारी कटेजमा वार्ता सम्पन्न भएको थियो। वार्तापछि किरात वर्क्स पार्टीका तर्फबाट संयोजक साङकेन्मा किराती र प्रारम्भिक वार्ता उपसमितिको तर्फबाट संयोजक आनन्दप्रसाद ढुंगानाले हस्ताक्षर गरेका थिए।
त्यही सहमतिको जगमा विभिन्न समयमा भएका अनौपचारिक वार्तापछि अहिले आफूहरूका विभिन्न आरोपमा थुनामा रहेका नेता कार्यकर्ता र लगाइएका मुद्दा फिर्ता लिएमा मूलधारको राजनीतिमा आउने र निर्वाचनमा सहभागी हुने बताएको गृह प्रवक्ता पोखरेलले जानकारी दिए।
गृह मन्त्रालय स्रोतका अनुसार विभिन्न आरोपमा पक्राउ परेका दर्जन नेता कार्यकर्ता थुनामा छन् भने आधा दर्जन बढी मुद्दा छन्। कानुनअनुरुप मिल्ने मुद्दा फिर्ता र नेता कार्यकर्ता रिहाइ प्रक्रिया सुरु भएको हो । सो पार्टीले पूर्वी नेपालमा आफ्ना क्रियाकलाप गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।