काठमाडौं- सिन्धुपाल्चोकमा सत्ता गठबन्धनबीच समस्या देखिएको छ।
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएको भए पनि सिन्धुपाल्चोकमा भने समस्या देखिएको छ।
जिल्लास्थित संयन्त्रको जिम्मेवारी पाएको नेपाली कांग्रेसले गठबन्धनको बैठक नबोलाउने, बोलाइएको दिन पनि निर्णायक भूमिकामा रहेका नेता अनुपस्थित रहने गरेको भन्दै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आपत्ति जनाएको छ।
माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुली र एकीकृत समाजवादीका अध्यक्ष नवराज पौडेलले पाँच दलिय गठबन्धनको बागमती प्रदेश कार्यदललाई एक पत्र लेख्दै प्रारम्भिक चरणमा गठबन्धनको बैठकबसि सहमति प्रयास गरिएको भए पनि पछिल्ला दिनमा कांग्रेसका कारण वार्ताको वातावरण नबन्ने अवस्था सिर्जना भएको जनाएका छन्।
उनीहरुले कांग्रेसले गठबन्धनको सात बुँदे निर्देशनविरुद्ध गतिविधि गरिरहेको आरोप लगाएका छन्।
'त्यसभन्दा पनि गम्भीर विषय त हाल गठबन्धन दलको सात बुँदे निर्देशन विपरीत नेपाली कांग्रेसका तर्फबाट एमालेसँग वार्ता अघि बढाई गठबन्धनको मर्म र भावनाभन्दा बाहिरका शक्तिका बीचमा पालिका प्रमुख र उपप्रमुख समेतको बाँडफाँट गरेको पाइएको' पत्रमा जनाइएको छ।
माओवादी र एकीकृत समाजवादीले कांग्रेसको यस्तो भूमिकाका बारेमा पार्टीका शीर्ष नेताहरुको ध्यानाकर्षण आवश्यक रहेको बताएका छन्। दुई दलले प्रदेश स्तरीय संयन्त्रबाट यसबारे कदम चाल्नु पर्ने पत्रमा उल्लेख गरेका छन्।
सिन्धुपाल्चोकमा सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका नेता मोहन बस्नेतबीच प्रतिष्ठाको लडाइँ रहेको छ। दुई निर्वाचन रहेको उक्त क्षेत्रमा गत प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रबाट सापकोटाले बस्नेतलाई पराजित गरेका थिए।
सिन्धुपाल्चोकमा गत निर्वाचनमा १२ स्थानीय तहमध्ये नेकपा एमालेले ७ कांग्रेसले ३, माओवादीले दुई स्थानीय तहको प्रमुख जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।