काठमाडौं– धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गोपाल हमालले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। उनले उपमहानगरपालिकाका सबै वडामा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिने उल्लेख गरेका छन्।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रयास गरिने, ज्येष्ठ नागरिक तथा मातृशिशुको स्वास्थ्यलाई महत्त्वका साथ प्रत्येक वडाहरूमा घुम्ती विशेषज्ञ मेवा प्रदान गर्ने व्यवस्था मिलाइने र उप–महानगरका सबै वडाहरूमा शुद्ध, सफा र स्वच्छ खानेपानीको व्यवस्थाका लागि पहल गर्ने दाबी गरेका छन्।
उप–महानगरमा रहेका स्वास्थ्य चौकी तथा अस्पतालहरूको स्तरवृद्धि गरेर सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने उनको दाबी छ।
सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता सेवाग्राहीको खातामा जम्मा हुने अथवा घरमै पुर्याउने व्यवस्था गरी बैंकमा लाइन लाग्नुपर्ने झन्झटिलो व्यवस्थाको अन्त्य गर्ने, एयरपोर्ट तथा अन्य विकास निर्माणका कार्यहरू गर्दा सरकारबाट अधिग्रहण गरिने जग्गाको मूल्यांकन गर्दा बजार मूल्यभन्दा कम नहुने गरी गर्ने व्यवस्थाका लागि प्रयास गर्ने घोषणापत्रमा उल्लेख छ।
उप–महानगरपालिकामा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी जस्ता क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरूलाई ‘धनगढी तारा’ पदकद्वारा सम्मान गरिने व्यवस्था लागू गरिने उनको घोषणापत्रमा उल्लेख छ।
उप–महानगरमा एक वडा एक उत्पादन कार्यक्रमलाई लागू गरेर कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण गरिने समयमै मल, बीउ आपूर्ति सुनिश्चिता गर्ने प्रयास गरिने घोषणापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।