काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको गैरकम्युनिस्ट प्रवृत्तिका कारणले तत्कालीन नेकपामा अस्वस्थ संघर्ष भएको बताएका छन्।
नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, 'जसलाई हामीले प्रधानमन्त्रीका रुपमा अगाडि सार्यौं। उनमा देखापरेको गैरमार्क्सवादी र गैरकम्युनिस्ट चरित्र र चिन्तनका कारणले, प्रवृत्तिका कारणले पार्टीभित्र अस्वस्थ संघर्षको परिस्थिति बन्यो।'
उनले नेकपा स्थापनालाई क्रमभंगको रुपमा अर्थ्याए। त्यो एकता सही थियो भन्ने अहिले पनि आफ्नो दाबी रहेको उनको भनाइ छ। एकता राष्ट्र, आफ्नो वर्गको र कम्युनिस्टहरु समग्र हितमा भएको उनको दाबी छ।
'तर एकाध नेतृत्वमा देखापरेको विचलनको कारण, वैचारिक विचलन, सांस्कृतिक विचलन र व्यक्तिवादी विसर्जनवादी चिन्तनका कारणले त्यो महान प्रयोग सफल त हुनसकेन,' उनले भने।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। २०७७ सालमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो। २०७७ फागुन २३ गते सर्वोच्चको एक फैसलाले सो एकता खारेज गरिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।