हेटौंडा- मकवानपुरको हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ।
हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्यबाल उद्यानमा रहेको भण्डारी र आश्रितको शालिक तोडफोड भएको हो।
शुक्रबार बिहान पार्कमा मर्निङवाकमा गएकाहरुले शालिक तोडफोड गरिएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए। समितिले प्रहरीलाई जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अबिनाश अधिकारीसहितको टोलीले घटनास्थलको अनुगमन गरेको थियो।
जीवराज आश्रितको प्रतिमा उखेलेर फालिएको छ भने प्रतिमाबाट मदन भण्डारीको शिर भाचेर केही पर खोल्सोमा लगेर फालिएको अवस्थामा भेटिएको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए।
गत असार १४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबाट मदन-आश्रितको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो।
मदन भण्डारी नेकपा एमालेका तत्कालीन महासचिव थिए भने आश्रित संगठन विभाग प्रमुख थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।