काठमाडौं– नेकपा एमालेले शुक्रबार स्थानीय निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछ। तुल्सीलाल स्मृति भवन, च्यासलमा एक कार्यक्रम गरेर एमालेले प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागिएको नेकपा एमालेले जनाएको छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा आसन्न स्थानीय तहको निर्वाचनको प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागिएको हो।
एमालेले आजै पार्टी केन्द्रीय कार्यालय पनि स्थानान्तरण गर्न लागेको छ। थापाथलीमा केन्द्रीय कार्यालय भाडामा सञ्चालन गर्दै आएको एमालेको केन्द्रीय कार्यालय शुक्रबारदेखि तुल्सीलाल स्मृति भवनमा सर्ने भएको छ।
यस्तै, नेकपा एमालेले आज नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवस समेत मनाउने भएको छ। सो क्रममा नेकपा एमालेले आज कम्युनिष्ट योद्धाको सम्मान कार्यक्रम पनि राखेको छ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा पार्टी प्रवेशको कार्यक्रमसमेत आयोजना गरिएको छ। विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ। दिउँसो १ बजे कार्यक्रम आयोजना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।