काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्।
सर्वहारा वर्गका नेता एवं विश्व समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५२औं जन्मजयन्तीसमेत परेको अवसरमा शुभकामना दिँदै उनले जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत न्याय, समानता र स्वतन्त्रताको संघर्षमा बलिदानी गर्ने शहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। त्यस्तै बेपत्ता योद्धाहरूप्रति सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
‘आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो। रूसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको छ,’ उनले भनेका छन्।
कम्युनिस्ट क्रान्तिकारीहरूको अगुवाइ र लोकतान्त्रिक शक्तिहरूको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको प्रचण्डको भनाइ छ।
शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गरेको प्रचण्डले भनेका छन्।
‘वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन,’उनले भने,‘तसर्थ, दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीहरूको रक्षासहित समाजवादको आधार तयार पार्नु यतिबेला सच्चा कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हुन आएको छ।’
प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको उनको भनाइ छ। ‘आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ । तसर्थ, आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा विशेष अपील गर्दछु,’ प्रचण्डले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।