काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीन बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएकी छन्। उनले चीनले नेपालको नाकामा अवरोध गरेको वा नाकाबन्दी गरेको कुरा सही नभएको प्रष्ट्याइन्।
राजदूत यान्छीले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले १ अर्ब ७७ करोड डलर बराबरको व्यापार नेपाल र चीनका बीचमा भएकाले सम्बन्ध बिग्रिएको भन्ने आरोप गलत रहेको दाबी गरिन्।
उनले चीनका विदेशमन्त्रीको भ्रमणसँगै सम्बन्धमा झन् ताजापन आएको बताइन्। यान्छीले कोभिड–१९ का कारण चीन र नेपालबीचको बीआरआई सहकार्यमा कुनै अवरोध नआएको दाबी पनि गरिन्।
पछिल्लो पटक भएको भ्रमणमा यो सम्बन्धी कुनै सम्झौतामा हस्ताक्षर नभएपनि उनले यसमा नेपाल साथमै रहेको संकेत गरिन्।
‘म यो औंल्याउन चाहन्छु कि बीआरआई कहिल्यै भूराजनीतिक रणनीति होइन’, उनले भनिन् ‘तर, विकासको बाटो हो। जसले सडकमा रहेका देशहरूलाई, विशेष गरी विकासशील देशहरूलाई दिगो विकासको २०३० अजेन्डा हासिल गर्न र साझा विकास र समृद्धिलाई प्रवर्द्धन गर्न मद्दत गर्दछ।’
चीन र नेपाल असल छिमेकी, असल मित्र र असल साझेदार भएको भन्दै उनले विभिन्न क्षेत्रमा दुई देशबीचको सहयोगको लामो इतिहास, बलियो आधार, उत्कृष्ट लाभ र व्यापक सम्भावनाहरू रहेको उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।