काठमाडौं– सत्तारुढ गठबन्धनको 'केन्द्रीय नीति' अनुसार आगामी स्थानीय तहको निर्वाचनका लागि सिन्धुली जिल्लामा स्थानीय तहहरुको भागबण्डा टुंगिएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपसमा स्थानीय तहको बाँडफाँट गर्दा एकीकृत समाजवादीसहित गठबन्धनका अरु दललाई भने छुटाइएको छ।
९ स्थानीय तह रहेको सिन्धुलीमा नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले ४ स्थानीय तहको प्रमुख लिने सहमति जुटेको छ।
२ नगरपालिकामध्ये कमलामाइ नगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले लिने सहमति भएको छ। यस्तै, दुधौली नगरपालिकाको प्रमुख माओवादी र उपप्रमुख कांग्रेसले लिने सहमति भएको छ।
गाउँपालिकामध्ये नेपाली कांग्रेसले तीनपाटन, फिक्कल, गलोञ्जोर र घ्याङ्गलेकको अध्यक्ष पाउने सहमति भएको छ। कांग्रेसले अध्यक्षको उम्मेदवार उठाउने गाउँपालिकामा माओवादी केन्द्रले उपाध्यक्षको उम्मेदवार उठाउने छ।
माओवादी केन्द्रले सुनकोशी, मरिण र हरिहरपुर गढी गाउँपालिकाको अध्यक्षमा उम्मेदवार उठाउने सहमति भएको छ। माओवादी केन्द्रले अध्यक्षको उम्मेदवार उठाउने पालिकामा कांग्रेसले उपाध्यक्षको उम्मेदवार उठाउने सहमति भएको छ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेले समान ३/३ वटा पालिकामा प्रमुख/अध्यक्ष जितेका थिए।
नेकपा एकीकृत समाजवादीले एमालेले जितेका स्थानीय तहमा आफ्नो दाबी रहने बताउँदै आएको छ। तर, सिन्धुलीमा भने एकीकृत समाजवादीले एउटा पनि स्थानीय तह पाएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।