काठमाडौं- नेकपा एमालेले गण्डकी प्रदेश सभा सदस्यलाई मेयरमा टिकट नदिने बताएको छ। बिहीबार बसेको सचिवालयको बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले त्यहाँ प्रदेश सभा सदस्यलाई मेयरमा टिकट नदिने बताएका हुन्।
योसँगै पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका तीन जना 'रिङ आउट' हुने भएका छन्।
'गण्डकीको हकमा, गण्डकीमा अझै पनि सरकार फेरबदल हुनसक्ने सम्भावनालाई मध्यजनर राखेर गण्डकीको कुनै पनि प्रदेश सभा सदस्यहरुलाई यसपटक स्थानीय तहको चुनावमा अगाडि सार्दैनौँ', बैठकपछि सुब्बाले भने।
उनले गण्डकी प्रदेश सभामा आफूहरुको २७ सिट रहेको भन्दै सरकारलाई समर्थन गरिरहेको कुनै दलले फिर्ता लियो भने सरकार परिवर्तनको सम्भावना रहेको बताए। दुई दिनको लागि भने पनि आफ्नो सरकार गठन हुन महत्त्वपूर्ण भएको उनले बताए।
यस्तै निर्णय लुम्बिनीमा पनि गर्न सकिने उनको भनाइ छ। 'जहाँ जहाँ सम्भावना छ। त्यसो गर्न सक्छौँ', उनले भने, 'बागमतीमा त्यस्तो सरकार बनिहाल्ने नजिकको सम्भावना छैन। कम भएको ठाउँमा त्यस्तो निर्णयमा बाँधिदैनौँ।'
यससँगै, एमालेबाट पोखराको मेयरमा आकांक्षा राखेका गण्डकी प्रदेश सभाका सदस्यहरु कृष्ण थापा, राजीव पहारी र मीना गुरुङले प्रतिस्पर्धा गर्न नपाउने भएका छन्।
२०७४ को निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन हुँदा समेत पोखरा महानगरपालिकामा एमालेले फराकिलो अन्तरले चुनाव जितेको थियो। तर, यसपटक भने उम्मेदवार छनोटमा सकस भएको छ।
महानगरमध्ये एमालेले जित हासिल गर्न सबैभन्दा बढी सम्भावना रहेको पोखरा महानगरको मेयरका लागि १२ जना र उपमेयरका लागि ११ जना दाबेदार छन्।
मेयरको उम्मेदवारमा केन्द्रीय सदस्य एवं प्रदेश सांसद कृष्णबहादुर थापा, राजीव पहारी, केन्द्रीय सदस्य मिना गुरूङ, भीम कार्की, व्यवसायी पुष्पज्योति ढुङ्गाना, पुष्पराज अधिकारी, प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, दीपक पौडेल, दर्शन लामा, बालकृष्ण काउछा मगर र सावित्री भण्डारीले दाबी गरेका छन्।
यस्तै, उपमेयरमा तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, बलराम गायक गन्धर्व, हरिमाया गुरुङ, बैनबहादुर क्षेत्री, जीवन प्रसाद आचार्य, टिकाराम पंगेनी, बामदेव ढुंगाना, शोभामोहन पौडेल, देवका पहारी त्रिपाठी र सुष्मा पौडेलको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।