काठमाडौं– नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे वैशाख १० गते, शनिबार मात्र निर्णय गर्ने भएको छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयतको समय निर्धारण गरेको छ।
बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा सातवटै प्रदेश कमिटीले गरेको सिफारिसबारे छलफल मात्र भएको र अर्को बैठकले निर्णय गर्ने एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए। उनका अनुसार सचिवालयको अर्को बैठक शनिबार दिउँसो ३ बजे बालकोटमै बस्नेछ।
बिहीबारको बैठकमा महानगर र उपमहानगरको प्रमुख तथा उपप्रमुखका लागि सातवटै प्रदेशबाट आएका सिफारिसबारे महासचिव शंकर पोखरेलले जानकारी दिएका थिए।
आजको बैठकमा दुईवटा अजेण्डामा छलफल भएको उनले बताए। उनका अनुसार भोलि नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस व्यापक रूपमा मनाउने निर्णय भएको छ। पार्टी स्थापना दिवसकै अवसरमा भोलि तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा केन्द्रीय कार्यालय उद्घाटन हुने गुरुङले बताए।
भोलि नै स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गरिने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।