काठमाडौं- गएको निर्वाचनमा विवेकशील पार्टीबाट काठमाडौं महानगरको उम्मेदवार बनेकी रञ्जु दर्शनाले यसपल्ट नदोहोरिने स्पष्ट पारेकी छनिन्। तर, कुनै न कुनै रुपमा राजनीतिमा भने अगाडि बढिरहने उनको भनाइ छ।
उनले भनेकी छन्, 'म आफैंले अघिल्लो पटकको स्थानीय निर्वाचनमा गरेको वाचा, घर-घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफूले मेयर पदको आकांक्षा राखि चुनावमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षी गरेको छु। तसर्थ, यस स्थानीय निर्वाचनमा रञ्जुको उम्मेदवारी रहने छैन।'
यो स्थानीय तहको निर्वाचनमा नलड्ने घोषणाको अर्थ राजनीति छाड्ने नरहेको उनको भनाइ छ। 'स्थानीय तहको राजनीतिमा समुदाय, स्थानीयसँग निकटको सम्बन्ध हुनैपर्छ। मेरो सक्रियता राष्ट्रिय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढी व्यतित भएको छ। यसर्थ, यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छु,' उनले भनेकी छिन्।
आफूले सुरु गरेको राजनीतिमा चुनावमा बढी मत लेराएर विजय हासिल गरेर मात्र नहुने भन्दै उनले राजनीतिक सु-संस्कार स्थापना गर्ने कुरामा विश्वास गर्ने उल्लेख गरेकी छन्।
'त्यही मान्यतामा मेरो यो कदम आधारित छ। धेरै शुभचिन्तक, साथीहरुले यस स्थानीय निर्वाचनमा उठनुस् भनिरहनु भएता पनि म यो यथार्थ र परिस्थितिलाई खुल्ला मनले स्वीकार गरि पूर्ण सशक्त रुपमा राजनीतिक यात्रा अघि बढाउने घोषणा गर्दछु,' उनले लेखेकी छिन्।
उनले आफ्नै समीक्षापत्र समेत सार्वजनिक गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।