काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘तमासा’ भनी टिप्पणी गरेका छन्।
आफूले दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई पनि अदालतले बदर गरेको भन्दै उनले त्यसलाई तमासाको संज्ञा दिएका हुन्।
बिहीबार एमालेको केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले उक्त फैसलामा सहभागी न्यायाधीशको पनि आलोचना गरे ।
‘एकजना फैसला गर्ने न्यायाधीशले त अमेरिकाबाट इमेलबाटै केपी शर्मा ओलीलाई जसरी पनि हटाउनुपर्ने भएकाले फैसला गरेको भने’, ओलीले आरोप लगाए, ‘त्यसैले साथीहरु तपाईं मिलाएर गर्नुस् मेरो साथ छ भनेर समेत भनेछन्।’
उनले न्यायाधीश ईश्वर खतिवडाप्रति लक्षित गर्दै यस्तो आलोचना गरेका हुन्। जेठ ७ गते मध्यरातमा भएको विघटनको फैसलामा खतिवडाले लिड गर्नेदेखि फैसला लेखनसम्म सक्रिय रहेका थिए।
ओलीले आफूलाई हटाउन परमादेश लेखेकोप्रति लक्षित गर्दै भने ‘यहाँ अदालतले परमादेश तोकेर प्रधानमन्त्री बनायो । संसद्मा बहुमत देखाउन नपाउने गरि तमासाको गैरकानुनी फैसला भयो।’
अदालतलाई भन्नुपर्ने 'सम्मानित' तर, काम 'असम्मानित' भएको ओलीको टिप्पणी छ। ‘यति घण्टाभित्र फलानोलाई प्रधानमन्त्री बनाएर शपथ गराउनु भनियो’ ओलीले भने, ‘राष्ट्रपतिले कतिबेर शपथ गराउने उनको अधिकार हो। कहिलेकाँही साइत निकालेर गरिन्छ। दुनियाँमा कहीँ पनि यस्तो तमासा हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।