काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउँछु भनेर हिँडेकाहरुको थुतुनो जलिरहेको टिप्पणी गरेका छन्। बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकमा सम्बोधन गर्दै ओलीले एमालेलाई विभाजित गरेर हिँडेकाहरुको 'हनुमान' को जस्तै अनुहार डढिरहेको टिप्पणी गरेका हुन्।
पवनपुत्र हनुमानबारेको पौराणिक कथा सुनाउँदै ओलीले २८ वर्ष नेतृत्व गरेकाहरुले पार्टी ध्वस्त बनाउन खोजेको आरोप लगाए।
हनुमानबारे ओलीले कथा सुनाउँदै भने, 'रामायणमा एउटा कथा छ। हनुमान असाध्यै पराक्रमी थिए। वायुपुत्र हनुमान जन्मनासाथ यसो आकाशतिर हेरेछन्। हेर्दा राम्रो, रोटी जस्तो लागेछ उनलाई। नजिकै गएर त्यो सूर्यलाई उनले खान खोजेछन्। खाउँ भन्दा थुतुनो जलेछ। एमाले सिध्याउँछु भनेर हिँडेकाहरुको थुतुनो अहिले जलिरहेको छ।'
उनले एमालेलाई विभाजित गरेर जानेहरुका कारण पार्टी शुद्धिकरण र सुद्रिढीकरण भएको दाबी गरे।
एमालेको नेतृत्व गर्दा माधव नेपालले पार्टीलाई कमजोर बनाएको र त्यसलाई अहिले आफूले बलियो बनाएको उनको भनाइ थियो।
'२४० स्थानमा लड्दा एमाले ३३ स्थानमा झर्ने अवस्था बन्यो' उनले भने, 'दुनियाँमा कम्युनिस्ट पराजित हुँदै गएका छन् भन्ने पछ्याउँदै गयो।'
एमालेले कुनै पनि निर्णय गर्न नसक्ने र ढुलमुले नीति माधव नेपालको पालामा लिने गरेको उनको भनाइ थियो। माधव नेपालको नाम नलिइ ओलीले भने, 'एमालेको लिंग छुट्टिएन भन्ने आरोपहरु आए। कतिखेर के नीति हो भन्ने थाहा भएन त्यो अन्योल अब छैन। एमालेसँग वैचारिक, नीतिगत स्पष्टता छर्लंग छ।'
उनले आफूलाई पार्टी एकता गर्नुपर्ने कुनै बाध्यता नभएको भए पनि बलियो वामपन्थी पार्टी बनाउन खोजेको बताउँदै त्यो सफल हुन नसकेको बताए।
नेकपा एकतै हुन नपाएको र अल्झ्याउने मात्र काम भएको उनको आरोप थियो।
'लगभग २ तिहाइ पाएपछि गतिशिल भएर बढ्छ भन्दा पार्टी एकता हुनै पाएन। अल्झाउने काम भए' उनले भने, 'नेतृत्वमाथिको हमला, आक्रोश, आलोचना, कुण्ठा, इर्श्या प्रकट भइरहने र नचाहिने कुरामा अल्झिने अवस्था बन्यो।'
नेतृत्वको आलोचना गर्न पाइन्छ तर कसैले पक्षमा बोल्यो भने देवत्वकरण गर्यो भनेर उफ्रिने काम भएको उनको आरोप थियो। 'पुच्छरवाद, दाSSस भन्ने आरोप लगाउने मात्र काम भयो' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।