काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र गभर्नरबीच सुरुवातदेखि नै समस्या देखिएको प्रष्ट पारेका छन्। कैलालीको गेटा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन्।
‘वर्तमान सरकार बनेदेखि नै गभर्नरबीचमा समस्या देखिएको थियो,’ उनले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्रीबीच सल्लाह भएर नै हटाउने निर्णय भएको हो।’ उनले सर्वोच्च अदालतले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको भन्दै त्यसपछि मात्रै समस्या के हो भन्न सकिने प्रष्ट पारे।
पाँच दलीय गठबन्धनबीच भएको सहमतिका विषयमा पार्टीभित्र देखिएका असन्तुष्टिलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनले केहीदिनमा असन्तुष्टि सबै शान्त हुने बताए।
‘एउटै पार्टीभित्र टिकट दिने विषयमा पनि असन्तुष्टि हुन्छन्, यो त गठबन्धनभित्रको विषय हो। सामान्य केही समस्या देखिन्छन नै,’ उनले भने, ‘केही दिनमा सबै शान्त हुन्छ। यसले निर्वाचनको परिणाममा कुनै समस्या ल्याउँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।