काठमाडौं–तमिल र हिन्दी फिल्म उद्योगका दिग्गज निर्देशक टी रामारावको ८४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका उनको बुधबार बिहान निधन भएको हो।
निर्देशक रामारावले आफ्नो फिल्मी करिअरमा ७० भन्दा धेरै फिल्म निर्देशन गरेका थिए। ८० को दशकमा निर्देशक रामाराव र जीतेन्द्रको जोडीलाई ब्लकबस्टर फिल्मको पर्यायको रुपमा हेरिन्थ्यो।
तमिलमा थुप्रै चर्चित फिल्म निर्देशन गरेका रामारावले नै दक्षिण भारतीय सुपरस्टार रजनीकान्तलाई फिल्म ‘अन्धा कानुन’बाट हिन्दी फिल्म उद्योगमा प्रवेश गराएका थिए। उक्त फिल्म निकै चर्चित भएको थियो।
१९७९ बाट हिन्दी फिल्म उद्योगमा कदम राखेका उनले अमिताभ बच्चन, जीतेन्द्र, मिथुन चक्रवर्ती, अनिल कपुर, सञ्जय दत्तजस्ता विभिन्न पुस्ताका अभिनेता तथा कलाकारहरुसँग काम गरे। उनको निर्देशनमा बनेका ‘अन्धा कानुन’, ‘मुकद्दर’, ‘नाचे मयुरी’, ‘खतरों के खिलाडी’, ‘इन्साफ’लगायतका फिल्म निकै चर्चित छन्।
निर्देशक रामारावको निधनमा बलिउडदेखि दक्षिण भारतीय फिल्म उद्योगसम्मले शोक जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।