धनगढी–नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले धनगढी उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा आ–आफ्ना उम्मेदवार सिफारिस गरेका छन्। स्थानीय तहमा भागबण्डाको टुंगो लगाउन पाँच दलीय सत्ता गठबन्धन बैठक जारी रहेकै अवस्थामा धनगढीमा दुई दलले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेका हुन्।
माओवादी केन्द्रको नगर कमिटीले नगर प्रमुखमा शान्ति अधिकारीलाई उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको छ भने उपप्रमुखमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम सिफारिस गरेको छ।
नगर प्रमुखको उम्मेदवारमा सिफारिस भएकी अधिकारी २०७४ को स्थानीय तह निर्वाचनमा उपप्रमुखमा पराजित भएकी थिइन्।
यस्तै, एकीकृत समाजवादी पार्टीले नगर प्रमुखमा मदनराज रेग्मी, लोकेन्द्र बानियाँ र उपप्रमुखमा रोजी बस्नेतलाई सर्वसम्मत उम्मेदवार छनोट गरेको जनाएको छ। रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन् भने बानियाँ प्रदेश कमिटी सदस्य हुन्। उपमेयर बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन्।
एकीकृत समाजवादीले नगरका १९ वटै वडामा उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत गरेको छ। ‘वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला कमिटीले टुंग्याउने छ भने वडा सदस्यको हकमा नगर कमिटीले उम्मेदवार चयन गर्ने नगर कमिटी अध्यक्ष मदन रेग्मीले बताए।
नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको नाम सिफारिस गर्न सकेको छैन। यद्यपि कांग्रेसबाट नगर प्रमुखमा सात आकांक्षी छन्। नगर प्रमुख पदमा वर्तमान नगर प्रमुख नृपबहादुर वड, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा क्षेत्री, निवर्तमान जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, जागृती ी बोगटी र लक्ष्मीदत्त भट्टको दाबी छ। उपप्रमुख पदमा पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल, डम्मरी महरा (रक्षा) र निपा चोखालले दाबी गरेका छन्।
सत्ता गठबन्धनले भने बुधबारमात्रै धनगढीको मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई दिनेगरी सहमति गरेका छन्।
कांग्रेस जिल्ला कार्यसमितिले भने आफनो प्रभाव क्षेत्रमा कुनै पनि हालतमा अन्य दललाई दिने गरि पछाडि नहट्ने अडान राखेको छ। कांग्रेस कैलाली ५ का सभापति भीम पडालले धनगढी उपमहानगरपालिकामा नगर प्रमुख, उपप्रमुखसहित कांग्रेस विजयी भएका वडामा काँग्रेसले नै पाउनुपर्ने प्रतिक्रिया दिए।
‘धनगढी उपमहानगरपालिकामा हामी बलियो छौं। २०७४ को स्थानीय निर्वाचनमा हामी केही वडामा मात्र पराजित भएका थियौं। त्यो पनि पार्टीको आन्तरिक किचलोका कारण भएको थियो,’ उनले भने, ‘यहाँ कुनै पनि हालतमा नगर प्रमुख र उपप्रमुख हामी छोड्दैनौं।’
अरु दलबाट को–को?
एमालेबाट पूर्वमेयर खेमराज पाण्डे, जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद जोशी र रणबहादुर चन्दको चर्चा भए पनि नगर प्रमुखको उम्मेदवारमा चन्द हुने भएका छन्। चन्द २०७४ को निर्वाचनमा पनि नगर प्रमुखका दावेदार थिए। केही महिनाअघि भएको एमालेको जिल्ला अधिवेशनमा उनी जिल्ला अध्यक्षका उम्मेदवार थिए।
यस्तै, २०७४ को निर्वाचनमा पाँचौं स्थानमा आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यस पटक नगर प्रमुखमा आफ्नो उम्मेदवारी नदिने निर्णय गरिसकेको छ। पार्टीका जिल्ला प्रवक्ता छत्र शाहीले भने, ‘हामीले नगर प्रमुखमा गोपाल हमाललाई समर्थन गर्ने र उपप्रमुखलगायत अन्य पदमा उम्मेदवारी दिने निर्णय गरेका छौं।’
राष्ट्रिय जनमोर्चाबाट नगरप्रमुखमा चन्द्रबहादुर बिष्ट, खडक राना, नगरसचिव शिव जैशी र अञ्जना श्रेष्ठको चर्चा छ। विष्ट २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेदवार थिए भने राना २०७० को संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार थिए। जनमोर्चा पाँच दलीय गठबन्धनसँगै रहेकाले सो पार्टीले उपमहानगरमा दाबी नगर्ने जनाइएको छ।
धनगढीमा स्वतन्त्र उम्मेदवारले पनि नगर प्रमुखमा दाबी गरिरहेका छन्। व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारका रुपमा प्रचारप्रसार तीव्र बनाइसकेका छन्। हमाल २०७४ को निर्वाचनमा नगर प्रमुखमा दोस्रो स्थानमा रहँदै पराजित भएका थिए।
त्यसपछि विवेकशील साझा पार्टीको प्रदेश संयोजकको जिम्मेवारी लिएका हमालले पार्टी परित्याग गरेर स्वतन्त्र रुपमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।
रेशम चौधरीका उम्मेदवार मीन
तीन महिनाअघि रेशम चौधरी पत्नीको नेतृत्वमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट धनगढीमा मीनबहादुर चौधरी नगर प्रमुखमा उम्मेदवार बन्ने भएका छन्। मीनबहादुर व्यापारी हुन्।
क–कसले जिते धनगढी रहेको क्षेत्रमा?
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा २०४६ को राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानीय चुनावमा नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित अधिकांश वडामा जित हासिल गरेको थियो। २०५४ मा भने एमाले विजयी भएको थियो।
धनगढी उपमहानगरपालिकासहितको तत्कालीन क्षेत्र नम्बर ३ मा २०४८ सालको आम निर्वाचनमा कांग्रेस विजयी भएको थियो भने २०५१ को मध्यावधि निर्वाचनमा एमालेले जितेको थियो ।
२०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः कांग्रेसले जित हासिल गरेको थियो। २०६२÷०६३ को दोस्रो जनआन्दोलनपछिको पहिलो संविधानसभा सदस्य निर्वाचन (२०६४) मा धनगढीसहितको क्षेत्र नम्बर ६ बाट माओवादी केन्द्र विजयी भएको थियो।
संविधानसभाको दोस्रो निर्वाचन (२०७०) मा क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए। सो निर्वाचनमा देउवा डडेल्धुराबाट पनि निर्वाचित भएका थिए।
निर्वाचनपछि देउवाले कैलाली ६ छोडेपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट पुस्करनाथ ओझा विजयी भएका थिए। त्यस्तै, २०७४ को संघीय निर्वाचनमा धनगढीसहितको क्षेत्र नम्बर ५ बाट एमालेका नारदमुनि राना विजयी भएका थिए।
यस्तो छ धनगढीमा २०७४ को निर्वाचन मतपरिणाम
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा ५४ हजार छ सय ५६ मत खसेको थियो भने एक हजार दुई सय मत बदर भएको थियो।
उक्त निर्वाचनमा नेपाली कांग्रेसका नृपबहादुर प्रमुख वड १४ हजार तीन सय २४ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार पाँच सय २७ मत प्राप्त गरेका थिए।
एमालेका उम्मेदवार दुर्गाप्रसाद जोशीले नौ हजार नौ सय ४६ मत प्राप्त गरेका थिए । त्यस्तै, माओवादी केन्द्रका रामसमझ रानाले १० हजार दुई सय नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर साहुले आठ सय २९, तत्कालीन मधेशी जनअधिकार फोरमका प्रेमकुमार बिसीले चार सय ५९ र जनमोर्चाका कृष्णप्रसाद चौधरीले दुई सय ३६ मत प्राप्त गरेका थिए।
१७ हजार मतदाता थपिए
पाँच वर्षमा धनगढी उपमहानगरपालिकामा झण्डै १७ हजार मतदाता थपिएका छन्। २०७४ को निर्वाचनयता धनगढी उपमहानगरपालिकामा १६ हजार सात सय २१ मतदाता थप भई ९६ हजार एक सय ५१ मतदाता पुगेका छन्।
आगामी निर्वाचनका लागि उपमहानगरपालिकामा ४५ हजार नौ सय २४ महिला, ४७ हजार दुई सय २४ पुरुष र तीन अन्य मतदाता पुगेको निर्वाचन आयोगले जनाएको छ।
२०७४ को निर्वाचनमा ३८ हजार पाँच सय ६१ महिला, ३७ हजार आठ सय ८६ पुरुष र तीन जना तेस्रो लिङ्गी गरी ७६ हजार चार सय ३० मतदाता थिए। त्यसमध्ये उपमहानगरपालिकामा कुल मतदाताको ८७ दशमलव ११ प्रतिशत मतपत्र खसेको थियो । खसेको कुल मतमध्ये दुई दशमलव १९ प्रतिशत बदर भएको थियो ।
आसन्न निर्वाचनका लागि २३ दल दर्ता भएका छन्। धनगढी उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा ३३ वटा मतदान स्थल र ८६ वटा मतदान केन्द्र रहेकोमा आगामी निर्वाचनमा ३४ मतदानस्थल र एक सय चार केन्द्र रहने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।