काठमाडौं– बिहीबारदेखि यो वर्षको ‘फिल्म साउथ एसिया २०२२’ महोत्सव सुरु हुँदै छ। दक्षिण एसियाली डकुमेन्ट्री फिल्महरुको महोत्सव बिहीबारबाट ललितपुरमा सुरु हुन लागेको हो।
बिहीबार ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा चल्ने महोत्सवमा विभिन्न आठ मुलुकका ७१ डकुमेन्ट्रीहरुको प्रदर्शनी रहेको छ। यो वर्ष प्रदर्शन हुने डकुमेन्ट्रीहरुको थिम ‘सेलिब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ।
महोत्सवमा दक्षिण एसियाली देशहरुमा सामाजिक, सांस्कृतिक, मानव अधिकार, वातावरणलगायतका विषयलाई आधार मानिएका डकुमेन्ट्रीहरुको प्रदर्शनी रहेको छ।
महोत्सवको सुरुवात ‘सट अप सोना’ नामक डकुमेन्ट्रीसहित हुनेछ। भारतीय गायिका, संगीतकार तथा गीतकार सोना मोहापत्रबारे बनेको यो डकुमेन्ट्रीलाई दिप्ती गुप्ताले निर्देशन गरेकी छिन्।
‘सट अप सोना’सँगै पहिलो दिन भारतीय डकुमेन्ट्री ‘रबरी’, ‘द हर्ट ब्रोकन लभर’, ‘ह्वेन आइवाज स्मल’, नेपाली डकुमेन्ट्री ‘रुपोश’, बंगलादेशी डकुमेन्ट्री ‘बिहाइन्ड द बुक’लगायतका डकुमेन्ट्रीहरुको प्रर्दशन रहेको छ।
चार दिनसम्म चल्ने महोत्सवमा विभिन्न विधामा प्यानल बहस तथा फिल्मका निर्देशक तथा निर्माण पक्षसँग वार्तालापलगायतका कार्यक्रमहरु पनि रहेका छन्। १३ औं संस्करणको रुपमा हुन लागेको महोत्सव कोरोना महामारीपछि भौतिक रुपमा पहिलो पटक हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।