काठमाडौं– सरकारका प्रवक्ता एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन गरेर निर्वाचनमा जानु अहिलेको आवश्यकता भएको बताएका छन्। उनले असन्तुष्टिका स्वरहरू मिलाएर जानुको विकल्प नभएको पनि बताए।
बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा भएको सहमति पत्र सुनाउँदै उनले नेपाली कांग्रेसभित्र देखिएको असन्तुष्टिप्रति टिप्पणी गरे। उनले असन्तुष्टि भएपनि मुलुकको आवश्यकताका कारण मिलेर जानुको विकल्प नभएको उल्लेख गरे।
‘यो मुलुकको आवश्यकतालाई हेरेर गठबन्धन गरेका हौं’, उनले भने ‘कतिपय ठाउँहरुमा असन्तुष्टि होलान्। तर, मुलुकको हितका लागि मतभिन्नताहरुलाई मिलाएर लिएर जानुको विकल्प छैन। असन्तुष्टिलाई छलफल र सहमतिमा लगेर पाँचदलीय गठबन्धनमा कायम राख्छौं।’
सत्तारुढ दलले ६ महानगरमध्ये नेपाली कांग्रेसलाई ३, माओवादी केन्द्रलाई १, एकीकृत समाजवादी १, जनता समाजवादीलाई १ महानगर दिने सहमति गरेका छन्।
त्यस्तै, कांग्रेसले ७, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले १ र जसपाले १ उपमहानगरमा प्रमुख पाउने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।