काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसलाई कसैको वैशाखी नचाहिने बताएका छन्। उनले भने, ‘कांग्रेस आफ्नै बलमा लक्ष्य हासिल गर्न सक्छ। कसैको वैशाखीको आवश्यकता छैन।’
उनले कांग्रेसका शीर्ष नेताहरुले केन्द्रीय समितिको निर्णय पन्छाएर विभिन्न निर्णयहरु गरेर जिल्लामा पठाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ,’ उनले भने, ‘एक्लै लडेपनि गन्तव्य पुग्ने आत्मविश्वास छ।’
अर्काको छापमा स्वस्तिक चिह्न हान्नुपर्ने विडम्बना आइलागेको बताउँदै त्यसको हिसाबकिताब अब चुनावपछि खोज्ने उनले बताए।
‘भर्खरै गगनजी र म कानेखुशी गर्दै थियौं– हामीलाई कस्तो विडम्बना छ भने अर्कै पार्टीको छापमा स्वस्तिक चिह्न लगाउनुपर्ने भो!’ उनले थपे, ‘यसको हिसाकिताब अब चुनावपछि खोजौंला।’
गठबन्धनका कारण नयाँ ३६ लाख भोटरलाई कांग्रेस बनाउन चुक्नुपर्ने भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘३६ लाख नयाँ मतदाता छन्। उनीहरुलाई नेपाली कांग्रेस बनाउन सकेनौं भने कांग्रेस फेरि कमजोर हुन्छौं।’
उनले पहिलो संविधानसभा, दोस्रो संविधानसभाका लागि गरिएका निर्वाचनमा पनि गठबन्धनको सरकार रहेको तर तालमेल नगरेको स्मरण गरे। अहिलेको बाध्यता बुझिनसक्नुको रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।