काठमाडौं–स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन सत्तारुढ गठबन्धनबीच राति पुनः बैठक बस्ने भएको छ। दलहरुबीच सहमति हुन नसकेपछि केहीबेर अघि सकिएको बैठक राति पुनः १० बजे बस्ने भएको हो।
माओवादी केन्द्रका नेता देव गुरुङले सहमति सकारात्मक भएको जानकारी दिँदै अब खाना खाएर आएपछि गृहकार्य गर्ने बताए। ‘नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ। हस्ताक्षर नगरी भन्न भएन। उपमहानगरको पनि टुंगो लगाउछौ,’ उनले भने।
बैठकस्थलबाट निस्किएका सरकारका प्रवक्ता एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि बैठक जारी रहेको र सकारात्मक रुपमा अघि बढेको बताएका छन्।
बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले भने, ‘हामी निस्कर्षको नजिकमा पुगेका छौं, बैठकमा हरेक कोणबाट विचार आएका छन् र सबै सकारात्मक रुपमा अघि बढेको छ। निस्कर्षको चरणमा प्रवेश गरेका छौं, त्यो तपाईंहरुलाई सुनाउनेछौ।’
यसअघि दिउँसो ३ बजेबाट बैठक सुरु भएको थियो।
हिजो विवाद भएको पोखरा महानगर समाजवादीलाई दिने सहमति भएको सूचना दिउँसो सार्वजनिक भएको थियो । उपमहानगरबारे सहमति नभएकाले त्यसलाई मिलाउन छलफल चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।