काठमाडौं– विज्ञानराज शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटी संयोजकको पदबाट दिएको राजीनामा सुटुक्क फिर्ता लिएका छन्।
नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सको निर्देशकसमेत रहेका शर्माले गत फागुन २० गते एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए। तर, उनले सुटुक्क राजीनमा फिर्ता लिँदै सोमबार भएको कमिटीको बैठकको अध्यक्षता गरेका हुन्।
स्थगित भएको ‘सी’ डिभिजन लिग र हालै सम्पन्न ‘बी’ डिभिजन लिगबारे छलफलका लागि बसेको बैठकमा शर्माले अध्यक्षता ग्रहण गरेका हुन्। ‘उहाँ (शर्मा)ले एनएसएलमा काम गर्नको लागि काजमा बस्ने प्रकिया मिलाउनु भएको हो। मिडियाले उहाँको राजीनामा स्वीकृत भएको या नभएको बुझेनन्,’ लिग कमिटीका एक सदस्यले नेपाल लाइभसँग भने, ‘राजीनामा स्वीकृत भएको भए बैठकमा उहाँलाई राख्न मिल्दैन थियो। राजीनामा स्वीकृत नभएको भएर उहाँकै अध्यक्षतामा हिजो बैठक सम्पन्न भएको हो।’
दोस्रो संस्करणको एनएसएल हुने भएसँगै शर्मा काठमाडौंमा आबद्ध भएका थिए। तर, २५ चैतबाट हुने तय भएको एनएसएल विवादका कारण अनिश्चित बनेको छ।
नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टले एनएसलको नयाँ मिति प्रस्ताव गरेको छ। एन्फासँग सेप्टेम्बरदेखि अक्टोबरसम्मको मिति मागेको नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बताएका छन्।
यद्यपि नयाँ मितिका लागि एन्फासँग प्रस्ताव भएको र निर्णय आउन बाँकी रहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।