काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले देश अर्थमन्त्रीको मात्र नभएको टिप्पणी गरेका छन्।
राष्ट्र बैंकका गभर्नर (निलम्बित) महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा जारी सुनुवाइमा भाग लिँदै वरिष्ठ अधिवक्ता थापाले देश अर्थमन्त्रीको मात्र नभएको जिकिर गरेका हुन्।
उनले गभर्नर विना बजेट निर्माण हुन लागेको र यसैगरी बजेट आउने सम्भावना रहेको बहसका क्रममा भने।
'यो अर्थमन्त्रीको मात्र देश होइन। गभर्नर बिना बजेट निर्माण हुँदै छ। यसैगरी बजेट आउने सम्भावना छ' इजलासमा थापाले भने।
त्यसअघि बहसमा भाग लिएका वरिष्ठ अधिवक्ता सुशील पन्तले अनुहार मन परेन भनेर गभर्नर हटाउन नसकिने जिकिर गरेका थिए। अर्का वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले सरकारले गठन गरेको छानबिन समिति नै असंवैधानिक र स्वार्थ बाँझिने खालको रहेको बताएका थिए।
चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वत: निलम्बनमा परेका छन्।
विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित रिट लिएर अधिकारीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटको प्रारम्भिक सुनुवाइका लागि मंगलबार न्यायाधीश फुयाँलको इजलासमा पेसी तोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।