काठमाडौं- पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार उठाउने सत्ता गठबन्धन दलहरुबीच सहमति बनेको छ। मंगलबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो सहमति गरेको बैठकमा सहभागी एक नेताले बताए।
अन्य महानगरपालिकाको नेतृत्व कसले पाउने भन्ने विषयमा गठबन्धनका दलहरुले सोमबार नै करिबकरिब सहमति जुटाइसकेका थिए। तर पोखरा महानगरपालिकाको हकमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको थियो।
सहमति अनुसार कांग्रेसले काठमाडौं, ललिपुर र विराटनगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवार उठाउने छ। त्यस्तै, माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगंज र एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवार उठाउने छ।
यसअघि काठमाडौं र पोखरामा एमाले, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र र वीरगंजमा जसपा (तत्कालीन संघीय समाजवादी फोरम) ले जितेका थिए।
गठबन्धनको बैठकमा पोखरा एकीकृत समाजवादीलाई दिनुअघि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पोखराका नेताहरुलाई भेटेका थिए। त्यहाँ उनले गठबन्धन भएकाले सो महानगरको नेतृत्व एकीकृत समाजवादीलाई दिने संकेत गरेका थिए। त्यहाँ उनले गठबन्धनको बाध्यता बुझिदिन नेताहरुलाई आग्रह गरेका थिए।
महानगरको प्रमुखमा सहमति जुटेको भए पनि उपप्रमुख र ११ वटै उपमहानगरपालिकाको विषयमा भने छलफल जारी रहेको ती नेताले बताए। आजै महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको भागबण्डा टुंग्याइसक्ने सत्ता गठबन्धनको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।