फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन जोगाउने दायित्व बुझिदिन पोखराका नेताहरुलाई आग्रह गरेका छन्। पोखरा महानगरपालिका एकीकृत समाजवादीले दाबी गरेपछि भेट्न काठमाडौं बोलाइएका कांग्रेस नेताहरुको समूहलाई उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई भेट्न कास्कीका नेताहरु मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। देउवासँगको भेटमा आफूहरुले कास्कीमा अर्को दलको नेतृत्वमा चुनावमा गए गठबन्धनले जित्न नसक्ने तथ्य राखेको नेताहरुले बताएका छन्।
उक्त समूहमा रहेका कास्कीका नेता यज्ञबहादुर थापाले भने, 'दुई लाख मतदातामा कांग्रेस एक्लैले ६० देखि ७० हजार मत होल्ड गर्छ। गठबन्धनका अरुलाई सम्झाएर कांग्रेसको तर्फबाट मेयरको नेतृत्वमा चुनाव लड्नुपर्यो।'
जवाफमा देउवाले आफूमाथि गठबन्धन जोगाउने दायित्व रहेको भन्दै बुझिदन आग्रह गरेको उनले बताए। देउवाको भनाइ उदृत गर्दै उनले थपे, 'मैले बुझेको छु, तर गठबन्धन जोगाउने मेरो दायित्व तपाईंहरुले बुझिदिनुपर्यो।'
आफूहरुले थोरै मत भएको ठाउँमा धेरै मत खन्याउन गाह्रो हुने कुरा गठबन्धनका अर्का नेता पुष्पकमल दाहाल प्रचण्डलाई समेत सुनाएको उनले बताए। देउवाले नेताहरुलाई कास्की कांग्रेसले राख्ने वा गठबन्धनका अन्य दललाई दिने भन्ने विषयमा कुनै स्पष्ट जवाफ नदिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।