काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का नेता/कार्यकर्ताहरु अब पढाइमा पनि अब्बल हुनुपर्ने बताएका छन्।
नेवि संघ स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘पढ्नमा फेल हुने अनि कहाँबाट नेता हुन पाइन्छ? पढाइमा पनि पहिला हुनुपर्छ। सबै ठाउँमा नेवि संघ अब्बल हुनुपर्छ।’
अहिले क्याम्पसको चुनावमा नेवि संघका प्रतिनिधिहरु किन हारिरहेका छन् भन्ने विषयमा ध्यान दिनुपर्ने देउवाको भनाइ छ। विद्यालय स्तरमा पनि नेवि संघको समिति गठन गरिनुपर्ने भन्दै देउवाले कार्यकर्ताहरुलाई त्यसमा लाग्न निर्देशन दिए।
नेपाल अहिले पनि गाउँकै देश भएकाले गाउँकै स्कूलमा पुगेर संगठन बनाउनुपर्ने देउवाको भनाइ छ।
देउवाले क्याम्पसका चुनावमा नजिते संसदीय तथा स्थानीय चुनावमा पनि जित्न नसकिने भन्दै क्याम्पसबाटै बलियो बन्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।