काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। गठबन्धन टुटेमा कम्युनिस्ट पार्टीहरु एमालेसँग मिल्न जाने देउवाको चिन्ता छ।
'हामीले गठबन्धन टुटाउने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिले भने हाम्रो के अवस्था होला?’ नेपाली विद्यार्थी संघको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा देउवाले भने, ‘पहिला (२०७४)को जस्तै होला। अहिले एकलौटी रुपमा बहुमत आउने सम्भावना छैन।’
अहिले कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सम्भव नभएकाले गठबन्धन गरिएको देउवाको तर्क छ। ‘पहिला ओलीलाई हटाउन भनियो उनलाई हटाइयो। गठबन्धनमाा गिभ एण्ड टेक हुन्छ। गठबन्धनमा आउनेले पनि पाउने आस गरेको हुन्छ नि। उनीहरुले हामीलाई ठूलो पार्टी हुनुस् भनेको छ र हामी पनि सानो पार्टी बन्छौं भनेका छन्। यसमा के गलत छ?’देउवाले भने।
दोहोर्याएर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका देउवाले पार्टी नेताहरुलाई अब विभिन्न तहका सरकारमा जिम्मेवारी लिने विषयमा अर्जुनदृष्टि राखेर काम गर्ने भने। ‘केहीलाई यस (गठबन्धन)लाई तोड्नु छ। म त प्रधानमन्त्री भइसकेँ, अब तपाईंहरु हुने हो। मुख्यमन्त्री हुने हो। अर्जुनदृष्टि राखेर काम गर्नुस्।’
संसद्मा पनि आफूहरु हारेको हार्यै भएको तथ्य बुझेर संगठन निर्माणमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
प्रधानमन्त्री देउवाले गठबन्धनकै कारण विभिन्न प्रदेशमा आफूहरुले मुख्यमन्त्री पाएको स्मरण गराए। ‘गठबन्धनले अहिले धेरै प्रदेशमा हामीले मुख्यमन्त्री पाएका छौं। कर्णाली र गण्डकीमा मुख्यमन्त्री पाएका छौं। अन्यमा सरकारमा गएका छौं,’भने।
गठबन्धन गरेर आफूले कुनै गल्ती नगरेको पनि देउवाले दाबी गरे। गठबन्धन कायम राखेको कुरामा आफूलाई धन्यवाद र बधाई दिनुपर्नेमा आलोचना भएको भन्दै नेताहरुप्रति असन्तुष्टि पोखे। एक्लै निर्वाचनमा जाँदा २०७४ को झैं नतिजा आउने भएकाले गठबन्धनमा जान लागेको भन्दै यसलाई जोगाउनुपर्ने बताए।
‘अब म पार्टी सभापति हुन पाउँदिन। तेस्रोपटक हुने व्यवस्था छैन,’ उनले भने, ‘मैले गठबन्धन मिलाएर राम्रै गरेको छु। यसलाई अपराध भन्नु हुन्छ भने पनि भन्नुस।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।