काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले हतास अवस्थामा पुगेको टिप्पणी गरेका छन्। सत्ता गठबन्धन एकजुट भएको देखेर ओलीले प्रतिगमनकारी शक्तिसँग हात मिलाउन लागेको पौडेलको भनाइ छ।
सत्ता गठबन्धन कायम गर्नुको अर्थ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्रै नरहेको पौडेलले दाबी गरे।
‘यो गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि नभइ देशलाई अग्रगामी रुपान्तरणका लागि भएको हो,’नेपाल विद्यार्थी संघको ५३औं वर्षको अवसरमा आयोजित कार्यक्रममा पौडेलले भने, ‘यही गठबन्धन देखेर केपी ओली हतास भएका छन्। जस्ता शक्तिसँग पनि ओलीले हातोमालो गरिरहेको छन्।’
नेकपा एमालेले राप्रपा नेपाल र परिवार दलसँग गरेको सहकार्यको पौडेलले आलोचना गरे। ओलीले 'प्रतिगामी शक्ति'सँग हातेमालो गरिरहेको अवस्थामा आफूहरुको (सत्ता) गठबन्धनको अपरिहार्यता बढेको पौडेलको भनाइ छ।
'अहिले हामीले गठबन्धन गर्नु परेको एक कारण यस्ता (राप्रपा नेपाल लगायतजस्ता) शक्तीहरुलाई शासनमा आउन नदिनु पनि हो,' पौडेलले भने।
नेपालको राजनीति अहिले पनि अप्ठ्यारो अवस्थामा रहेको भन्दै उनले लोकतन्त्रका लागि लड्नुपर्ने अवस्था अहिले पनि कायम रहेको बताए। उनले अहिलेको उपलब्धि उल्टाउने कोसिस भइरहेको भन्दै सत्ता गठबन्धनले व्यवस्थालाई 'बचाउने' दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।