नेपालगञ्ज– बाँके निर्माण व्यवसायी संघले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ। निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका हुन्।
यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब रु सात अर्ब बराबरको ५ सय सरकारी निर्माण आयोजनाका काम रोकिएको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिए। ठेक्का सम्झौता हुँदाको बेलाभन्दा अहिले निर्माण सामग्रीको मूल्य अत्यधिक भएकाले व्यवसायी घाटामा जान थालेको उनले बताए।
‘पहिले गरिएको ठेक्कामा अहिले काम गर्ने अवस्था छैन, त्यसैले बाध्य भएर निर्माण होलिडे घोषणा गरेका हौँ,’ अध्यक्ष खड्काले भने। सबैभन्दा बढी डिजेलमा २५ प्रतिशत, इँटामा ३३ प्रतिशत र फलाममा २४ प्रतिशत मूल्यवृद्धि भएको व्यवसायीले जनाएका छन्।
संघका लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश चन्दले कतिपय व्यवसायीले सामग्री खरिद गर्न नसकेकाले तनाव झेल्नुपरेको उल्लेख गर्दै अन्तिम विकल्पका रूपमा यो अवस्था आएको बताए।
संघले निर्माण सामग्रीको जिल्लामा तोकिएको दररेट समायोजन गर्न, मूल्यवृद्धिलाई राहत हुने गरी निर्देशिका ल्याउन, निर्माण पूरा हुने म्याद थप गर्न माग गरेको छ। कतिपय व्यवसायीले कामका लागि कच्चा पदार्थसमेत नपाइएको र पछिल्लो भुक्तानीसमेत नपाइएको गुनासोसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।