काठमाडौं- सत्ता गठबन्धनभित्र पोखरा महानगरपालिकाको नेतृत्वको विषयमा विवाद भएपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गर्न गण्डकी प्रदेशका सभापति र कास्की सभापतिसहितका नेताहरूलाई काठमाडौं बोलाएका छन्।
कास्की कांग्रेसले पोखरा महानगरपालिकाको मेयर अरूलाई छाड्न नसक्ने अडान लिइरहेको अवस्थामा उनले छलफलका लागि काठमाडौ बोलाएका हुन्।
सभापति देउवाले गठबन्धनको बैठकअघि बालुवाटारमा छलफल गर्न कास्कीका नेताहरूलाई बोलाएका हुन्।
कास्कीका सभापति किशोरदत्त बरालले पार्टी सभापतिले काठमाडौं बोलाएकाले अहिले आउँदै गरेको बताए। उनले आफूसहित तीन जना नेताहरु काठमाडौं आइरहेको र पोखरामा नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने अडान राख्ने बताए।
उक्त क्षेत्र नेपाली कांग्रेसले नलिने हो भने एमालेलाई पराजित गर्न नसकिने उनको तर्क छ। सभापति देउवाले छलफलका लागि बोलाएपछि गण्डकी कांग्रेस सभापति शुक्रराज शर्मा, कास्की सभापति बराल र नेता यज्ञबहादुर थापाको टोली आइरहेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।