काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सत्ता गठबन्धनले आज सिट बाँडफाँट टुंगोे लगाउने बताएका छ।
पार्टीको आइटी सेन्टरले मंगलबार (आज) आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले आसन्न स्थानीय तह निर्वाचनमा ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँट केन्द्रबाटै मिलाइने बताएका हुन्। दलहरूबीच आ–आफ्नो दाबी रहेकाले मिल्न समय लागे पनि सहमति जुट्ने उनको भनाइ छ।
नेता पुनले गठबन्धनका बीच नगरपालिका र गाउँपालिकाको सिट बाँडफाँट पनि मिलाउने प्रयास भइरहेको बताए। तल्लो तहमा मिल्न नसके गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुने उनले बताए। ‘नगर र गाउँपालिकामा पनि माथिबाटै मिलाउन प्रयास गरेका छौं,’ उनले भने, ‘नमिले गठबन्धनभित्रै प्रतिस्पर्धा गर्छौं, महानगर र उपमहानगरको विषय भने आज टुंगो लाग्छ।’
तल्ला तहमा सिट बाँडफाँटका लागि माथिबाट पहिला कुन दलले कति प्रतिशत लिने भनेर संख्या तय गरेर प्रदेश र जिल्ला समितिलाई मिलाउन सहजीकरण गर्न सकिने नेता पुनको भनाइ छ। नेता पुनले माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दा गरेका कामलाई व्यवस्थितरूपमा जनस्तरमा पुर्याउन सूचना प्रविधिलाई क्रान्तिकारी साधनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।