काठमाडौं– स्थानीय निर्वाचनको तालमेलको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज (मंगलबार) पनि बस्दै छ।
यही वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा सत्तारूढ गठबन्धनले भने चुनावी तालमेल गरेर उमेदवार उठाउने सहमति गरेको छ। महानगरपालिका र उपमहानगरपालिकाको विषयमा निर्णय गर्न सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज पुनः छलफलमा जुट्न लागेका हुन्।
स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका दलहरुलाई महानगर र उपमहानगरको भागबन्डा मिलाउन सकस भइरहेको छ। सोमबार दिनभर छलफलमा जुटे पनि दलहरुबीच सहमति हुन सकेन।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजे सुरु हुनेछ। हिजोको बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभर पटकपटक बसेको बैठक विनानिष्कर्ष सकिएको थियो।
६ वटा महानगर मध्ये ५ वटामा लगभग सहमति भइसकेको नेताहरुको दाबी छ। तर, पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले आफ्नो दाबी नछोडेका कारण सहमति हुन सकेको छैन।
एकीकृत समाजवादीले तालमेल गरेर जाने निर्णय भइसकेपछि पोखरा महानगरपालिकाको प्रमुख आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ। भने उता नेपाली कांग्रेसले भने पोखरा आफ्नो पार्टीले नै पाउनुपर्ने दाबी गरिरहेको छ।
सोमबारको बैठकमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिबारे छलफल भएको बताउँदै उनले मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको जानकारी दिए। ‘धेरै ठाउँमा सहमति नजिक पुगेकाले सकारात्मक ढंगले अघि बढनुपर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत हुनुहुन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।