काठमाडौं– बागमती किनारमा बस्नेहरूलाई सावधान रहन मेलम्ची खानेपानी विकास समितिले अनुरोध गरेको छ। आज (मंगलबार) देखि मेलम्चीको पानी बागमतीमा छाडिने भएकाले समितिले सावधान रहन आग्रह गरेको हो।
सुरुङ सफाइ क्रममा मेलम्ची नदीबाट पथान्तरण भई आएको पानी बागमती नदीमा छाडिने भएकाले सावधान रहन सूचना जारी गरेको आयोजनाले जनाएको छ।
मेलम्चीको पानी छाडिएसँगै बागमती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन समितिले अनुरोध गरेको हो।
गत चैत २९ गते अस्थायी रूपमा मेलम्ची खानेपानी आयोजनाको सुरुङ सञ्चालन भएको थियो। हाल सुरुङ भर्ने काम भइरहेको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।