काठमाडौँ–गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या सुधार गर्न निर्देशन दिएका छन्।
मन्त्री खाणले सोमबार बिहान अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला र कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर विमानस्थलमा देखिएका समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएका हुन्।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र कर्मचारी प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी सहभागी थियाे।
प्रवक्ता पोखरेलले मन्त्री खाणले सम्वन्धित निकायका प्रमुखहरूलाई बोलाएर समस्याबारे जानकारी लिँदै सुधार्न निर्देशन दिएको बताए। पोखरेलले भने, ‘विमानस्थलमा रहेका काउन्टरमा भिडभाड हुन नदिने व्यवस्था मिलाउन पनि मन्त्रीज्यूबाट निर्देशन भएको छ।’
त्यस्तै गृहमन्त्री खाणले विमानस्थलभित्र रहेका बैंकका एटीएम मेसिन बिग्रिएर यात्रुहरूले दुःख पाइरहेको गुनासो आइरहेको भन्दै तत्काल समस्या समाधानका लागि पनि निर्देशन दिएका छन्। उनले तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई सहज बनाउन पनि निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।