काठमाडौं–गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ताबीच भेटवार्ता भएको छ। दुवैबीच सोमबार साँझ गृह मन्त्रालयमा वार्ता भएको हो।
वार्तामा गृहमन्त्री खाणले विप्लव नेतृत्वको नेकपालाई आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेका छन्।
वार्ता सकारात्मक भएको र नेकपा निर्वाचनमा सहभागी हुन सकारात्मक देखिएको गृहका अधिकारीहरुले जनाएका छन्। वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राखेका थिए।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेकपाका थुनामा रहेका नेता कार्यकर्ताको कानुनअनुरुप रिहाइ र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत् सुरु गरिएको जानकारी दिए।
बैठकपछि खाणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन ३० बैशाखमा निर्धारित स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरे।
‘नेपाल सरकार आवधिक निर्वाचनमा भाग लिइरहेका राजनीतिक दल र हालसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दललाई स्थानीय निर्वाचनमा भाग लिन आग्रह गर्दछ,’ गृहमन्त्री खाणले भने, ‘स्थानीय सरकार, पालिकाहरूसँग आम नागरिकलाई जोड्ने स्थानीय निर्वाचनले हो। नागरिकहरूसँग जोडिन र स्थानीय स्तरको विकास निर्माणको हिस्सेदार हुन निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरूलाई भाग लिन नेपाल सरकार आह्वान गर्दछ ।’
खाणले अहिलेसम्म निर्वाचनमा सहभागी नभएका नेकपा र जनमत पार्टीलाई निर्वाचनमा सहभागी गराउन वार्ता गर्दै आएका छन्। दुवै दल निर्वाचनमा सहभागी हुन सकारात्मक भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।