काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सम्पन्न भएको जानकारी दिएको छ।
आयोगका प्रवक्ता शालिकराम शर्माले पत्रकार सम्मेलनमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए।
आगामी स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापमा एकरुपता कायम गर्न आयोगले ७७ वटै मुख्य निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको उनले बताए।
स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्ने समाचार र सूचनाको आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको र जवाफ आएकाले केही दिनमा निर्णय हुने बताए।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धि सम्पूर्ण गतिविधि र सूचनाको सहज रुपमा जानकारी दिन गत वैशाख १ गतेदेखि हरेक दिन स्थानीय तह निर्वाचन ई-बुलेटिन प्रकाशन गरिरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।