काठमाडौं- अछाम जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीलाई सर्वोच्च अदालत काजमा झिकाइएको छ।
न्यायपरिषद् स्रोतका अनुसार उनले न्यायीक विचलनमा परेर फैसला गरेको भन्दा पनि कार्यक्षमता अभावका कारण भएको हुनसक्ने देखिएकाले अहिले काजमा तानिएको हो।
कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले जोशीले गरेको फैसला विवादमा परेकाले प्रारम्भिक छानबिनका लागि काठमाडौं झिकाएका हुन्। यसअघि नै काठमाडौ जिल्ला अदालतका दुई न्यायाधीश सर्वोच्चमा तानिएको थियो। जिल्ला अदालत काठमाडौंमा रहेर विवादास्पद फैसला सुनाएका अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई हाल सर्वोच्चमा तानिएको छ।
जिल्ला न्यायाधीश जोशीले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाएका थिए। चैत १३ गते जिल्ला न्यायाधीश जोशीले निस्क्रिय रहेको मुलुकी फौजदारी कार्यविधीलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा सजाय गरेका थिए। उक्त फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालत दिपायलमा पुनरावेदनको तयारी गरेको छ।
न्यायाधीश जोशीले सहमतिमा यौन सम्बन्ध भएको भनि पीडितले बयान दिएको आधार लिएर फैसला सुनाएका थिए। पीडकले सफाइ पाउनुका साथै नभएको कानुनको आधारमा पीडितले आफ्नो प्रतिरक्षा गर्न नपाई सजाय गरिएको भन्दै उनी विवादमा परेका थिए।
उनी सर्वोच्च आएपछि उनको स्थानमा अर्को न्यायाधीश पठाउने तयारी न्याय परिषदले गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।