काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीचको तत्कालीन एकता एमालेभित्रका नेताहरुले विरोध गर्दागर्दै गरेको बताएका छन्।
सोलुखुम्बुमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले सिद्धिन लागेका प्रचण्डलाई ५३ सिटमा पुर्याइदिएको पनि बताए। तर त्यो एकतामा पार्टीका नेताहरु मानेका थिएनन् भन्ने उनको भनाइ छ।
'साथीहरु मानेकै थिएनन्। मैले हो प्रचण्डसँग तालमेल गरेको। मैले हो प्रचण्डसँग एकता गरेको।साथीहरु सबैले भन्दै थिए- प्रचण्ड खतरनाक मान्छे हो। तपाईं घरभित्र सर्प पाल्दै हुनुहुन्छ, अर्को अध्यक्ष बनाएर छेवैमा बिषालु सर्प राख्दै हुनुहुन्छ। अगाडिको दुइटा दाँत यस्तो परेको देख्नुभएन, कसरी डस्छ भन्दै थिए', उनले भने।
उनले साथीहरुले भन्दाभन्दै आफूले सर्पहरुको दाँत फुकाल्न आउँछ, चिन्ता नगर्नुस् भनेर आश्वस्त पारेको बताए। 'नभन्दै प्रचण्डले डस्न थालिहालेँ', उनले थपे।
एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। सुरुवातको केही महिना सहज रुपमा अघि बढेको भए पनि केही महिनापछि नै पार्टीभित्र विवाद चर्किएको थियो। त्यसको व्यवस्थापन हुन नसकेकै अवस्थामा २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एक फैसलामार्फत सो एकता बदर गरिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।