काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेलका सन्दर्भमा आइरहेको विरोधको स्वरले तात्विक फरक नपर्ने बताएका छन्।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसका नेताहरुको तर्फबाट आएको विरोधको स्वर स्वभाविक भएको बताए।
'पार्टीभित्र पनि कसैले टिकट पाउने र नपाउने हुन्छ। नपाउनेमध्ये कतिपय असन्तुष्ट हुने, बागी उठ्ने गरेका विगतका हामीले अनुभव गरेकै छौँ', उनले भने, 'पाँच दलीय गठबन्धनमा तालमेल गर्दा केहीकेही असन्तुष्टि, केही केही विरोधका स्वर सुनिनु यो लोकतान्त्रिक परिपाटीभित्र स्वभाविक कुरा हो। तर त्यसले तात्विक फरक पार्दैन।'
उनले गठबन्धनको औपचारिक निर्णय भइसकेपछि अन्ततः सबै पार्टी र पार्टीपंक्ति र जनपंक्ति पनि त्यही औपचारिक र संस्थागत निर्णयका पक्षमा नै उभिने विश्वास व्यक्त गरे।
उनले महानगर र उपमहानगरपालिकालाई केन्द्रले नै टुंग्याउने भन्ने नै नीति भएकाले आफूहरुले त्यसमा काम गरिरहेको र नगरपालिका र गाउँपालिकाको हकमा तल्ला कमिटीहरुलाई नै अधिकार प्रत्यायोजन गरिएको बताए।
'कहीँ समस्या पर्यो भने उनीहरुले केन्द्रलाई रिपोर्ट गरे भने केन्द्रले त्यहाँ सहयोग गर्ने भनेको हुनाले त्यही नीति अन्तर्गत नै हामी अगाडि बढ्दैछौँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।