काठमाडौं- सत्ता गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक लम्बिने भएको छ। बिहान १० बजेदेखि सुरु भएको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका छन्।
प्रचण्डले दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन आयोजना गरेका छन्। स्थानीय तहको चुनाव नजिएको सन्दर्भमा पार्टीको तयारी र योजनाका बारेमा उनले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरेका हुन्। त्यसका लागि प्रचण्ड बालुवाटारबाट बाहिरिएका हुन्। पत्रकार सम्मेलन सकेर प्रचण्ड पुनः बालुवाटार फर्किने माओवादी केन्द्रका एक नेताले जानकारी दिए।
बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरुको बैठक आयोजन गरिएको हो। बैठकमा पाँचै पार्टीका दोस्रो तहका नेताहरु पनि बैठकमा सहभागी छन्।
स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका पाँचदलीय गठबन्धनबीच कहाँ कसरी तालमेल गर्ने भन्ने विषय अझै टुंगिनसक्दा त्यसलाई अन्तिम रुप दिन शीर्षस्थ नेताहरु बैठकमा बसेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।