काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्ताहरुले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको जबरजस्ती गर्न नहुने बताएका छन्।
थापाले स्थानीय तहका नेता तथा कार्यकर्ता तालमेलको पक्षमा नरहेको जनाउँदै एक्लै लड्नुपर्नेमा जोड दिएका हुन्।
काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा थापाले कार्यकर्ताहरुको यस्तो मत रहेको बेला गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय लाद्दा गलत परिणाम पनि भोग्नुपर्ने उनले बताए।
'मतदातादेखि नेतासम्म विरोधमा छन्,' थापाले भने, 'विचार प्रमुख भन्ने कुरामा उनीहरू अडिग छन्। जबर्जस्ती लाद्ने हो भने सोचेभन्दा मतदाताले फरक व्यवहार गर्न सक्छन्' उनले भने।
आफूले सुरुदेखि नै नेतृत्व तहमा यही कुरा राखिरहेको भन्दै उनले नेपाली कांग्रेस मात्र नभई अन्य दलमा पनि यही कुरा भइरहेको बताए। 'म देशैभरका साथीहरुको सम्पर्कमा छु। देशभरका साथीहरु कोही पनि तालमेलको पक्षमा हुनुहुन्न' उनले भने 'मतदाताहरुको मनोविज्ञान र स्वभाव भनेको हार्न परे स्वीकार गर्ने तर तालमेल स्वीकार नगर्ने छ।'
उनले निर्वाचन जित्नका लागि चुनाव अघि नै तालमेल गरेर जाने कुरा स्वभाविक नभएको बताए।
‘निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुन्छ’ महामन्त्री थापाले भने ‘तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा हाम्रो लागि स्वाभाविक कुरा होइन।’
महामन्त्री थापाले कांग्रेसका कार्यकर्ताका लागि यो स्वभाविक नभएको बताए। निर्वाचनको मनोनयन वैशाख १२ गते हुने भएकाले त्यसअघि निश्चित कार्यक्रम र योजना बनाएर निर्वाचन प्रचारमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे।
थापाले हरेक वडालाई आफ्नै घोषणापत्र बनाउन आग्रह गरे। उनले आफूहरुले बनाउने घोषणापत्र पार्टीको भएकाले त्यसका केन्द्रित नहुन भन्दै वडाकै मुद्दा समेटेर हरेक वडाले घर घरमा संकल्प प्रस्ताव लैजान उनले आग्रह गरे।
उनले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरुले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।