काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्षस्थ नेताहरूसहित कार्यदल सदस्यहरूको बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए।
आसन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका पाँचदलीय गठबन्धनबीच कहाँ कसरी तालमेल गर्ने भन्ने विषय अझै टुंगिसकेको छैन। दैनिक जसो शिर्षस्थ नेता र कार्यदलको बैठक बसेपनि सहमति जुटन सकेको छैन।
यसअघि आइतबार बिहान शीर्ष नेताहरुको र दिउँसो कार्यदलको बैठक बसेको थियो। तर, सहमति भने जुटेन। आज बिहान बस्ने बैठकबाट महानगर र उपमहानगरमा सिट बाँडफाँडको विषय टुंगो लगाउने तयारी गरिएको छ।
दलहरुले महानगर र उपमहानगरमा आ–आफ्नै दाबी प्रस्तुत गरेका कारणले पनि सहमती जुटन कठिनाइ भइरहेको छ।
यसैबीच, सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज (सोमबार) बस्ने भएको छ। कांग्रेस नेता एवम् समिति संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बस्ने बैठकले स्थानीय निर्वाचनमा तालमले कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।
बैठकमा निर्वाचनमा गठबन्धनलाई कसरी व्यवस्थित बनाउन सकिन्छ र उम्मेदवारलाई कसरी निर्वाचित गराउन सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।