काठमाडौं–यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दाङको घोराही उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले दावी गरेको छ।
सत्ता गठवन्धनबीच तालमेलको प्रयास भइरहँदा कौग्रेसले उक्त नगरपालिका छोड्न नसकिने बताएको हो।
नेपाल लाइभसँग कुरा गर्दै दाङका काग्रेस नेता महेश श्रेष्ठले कांग्रेसको संगठन र लोकप्रियताका आधारमा घोराही उपमहानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दावी गरेको बताए।
गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले आन्तरिक कारणले पराजय भोगेकाले अब जनमत पाउनुपर्ने उनले बताए। ‘यसपटक हामी नेकपा एमालेका उम्मेदवारभन्दा धेरै अगाडि छौं, त्यसैले जित्न सक्छौं,' उनले भने।
एमालेले बहालवाला मेयर नरुलाल चौधरीलाई नै यसपटक अघि सार्ने तयारी गरेको छ। कांग्रेसबाट भूपबहादुर डाँगीको नाम सिफारिस भएको छ।
गत चुनावमा चौधरीले डाँगीलाई पराजित गरेका थिए। तर यसपटक टिकट पाएमा आफूले सजिलै चुनाव जित्ने डाँगीको दाबी छ।
दाङ २ मा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका छन्। बंगलाचुली गाउँपालिकामा माओवादी उम्मेदवारले जितेकाले घोराही उपमहानगरपालिका पनि माओवादीलाई दिइएमा २ नम्बर क्षेत्रका कांग्रेसजनहरु निरास हुने र विद्रोह पनि हुन सक्ने श्रेष्ठ बताउँछन्। बंगलाचुली गाउँपालिकामा फेरि माओवादी उम्मेदवार दोहोरिए पनि घोराही उपमहानगरपालिकामा कांग्रेसलाई नै मेयरको सिट दिइनु पर्ने उनले बताए।
दाङकै तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिकामा पनि सिट बाँडफाडका लागि गठबन्धन दलहरु बीच बैठक केही दिनदेखि निरन्तर बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।