काठमाडौं– नेपाली कांग्रेसबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न १८ जनाले दाबी पेस गरेका छन्। मेयरका लागि दाबी पेस गर्नेमा प्रदेश सरकारका बहालवाला मन्त्री समेत छन्।
आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापाले पनि उम्मेदवारी दिए। उनीसँगै उनकी भाइ बुहारीले उपमेयरको उम्मेदवारका लागि निवेदन दिइन्। उपमेयरमा १० जनाले दाबी पेस गरेका छन्।
मेयर पदको उम्मेदवारका आकांक्षीलाई आइतबार ४ बजेसम्म आवेदन दिन भनिएको थियो। प्रमुखको उम्मेदवारका लागि आवेदन दिनेमा सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा छन्।
उमपमेयरका लागि आवेदन दिनेमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली छन्। कांग्रेसबाट महानगर प्रमुखको उम्मेदवारका लागि दाबी पेस गरेका आकांक्षीले २५ हजार रुपैयाँ नगद बुझाएका छन्। यस्तै, उपमेयरको उम्मेदवारका लागि दाबी पेस गर्नेले २० हजार रुपैयाँ तिरेर नाम दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।