काठमाडौं– स्थानीय तहको निर्वाचनमा नगरपालिका र गाउँपालिकामा भागबण्डाको 'पारुप' तय गर्ने भनेर बसेको सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ।
गठबन्धनका दलहरुबीच स्थानीय तहको बाँडफाँटको 'प्रारुप' तयार गर्न आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बसेको थियो। स्थानीय तहमा तालमेल गरेर गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउने विषयमा छलफल भएपनि कुनै निष्कर्ष भने ननिस्किएको कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
‘अब कसरी व्यवस्थित बनाएर लैजाने भन्ने विषयमा छलफल भएको छ। यो छलफल अझै एक दिन चल्ने छ,’ आइतबारको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कार्कीले भने।
आइतबार बिहान बालुवाटारमै गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा भोलि (सोमबार) सम्म टुंग्याउने सहमति भएको थियो।
महानगर र उपमहानगर बाहेकका स्थानीय तहको तालमेलको सन्दर्भमा प्रारुप बनाउन समितिलाई जिम्मा दिने निर्णय भएको थियो।
समितिले नगरपालिका र गाउँपालिकामा भागबण्डाको प्रारुप तयार गरेर शीर्ष नेताहरुलाई बुझाउने भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।