काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल भएको छ। नेपाली कांग्रेसले वेवास्था गरेपछि जोशी समूहले एमालेसँग तालमेल गरेको हो।
तालमेल भएसँसगै आगामी स्थानीय तहको चुनावमा साझा उम्मेद्वार बनाउने सहमति भएको छ। जोशी निवास दमौलीमा शनिबार सम्पन्न छलफलबाट चुनावी तालमेल गर्ने निर्णय भएको हो। तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समितिसमेत गठन गरिएको छ।
जोशी समूह र एमालेबाट उक्त समितिमा ४/४ जना रहेको चुनाव परिचालन समिति समिति गठन गरिएको छ। प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेद्वारी दिने सहमति दुई पक्षबीच भएको छ।
तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नु परेको कांग्रेसका नेता गोविन्दराज जोशीले बताए।
सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेका जोशीले उक्त क्षेत्रमा आफ्नो उत्तराधिकारीको रुपमा छोरालाई अघि सारेका छन्।
जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा दीपकराज जोशीलाई उम्मेदबारको रुपमा अघि सारिएको छ। त्यसैगरी अन्य पालिकामा एमालेलाई सहयोग गर्ने सहमति भएको जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।