काठमाडौं– वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा दोस्रो सुनुवाइका लागि लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको आइतबारको इजलासमा पेसी तोकिएको हो।
स्थानीय तहका जनप्रतिनिधिले वैशाख ३० को निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिनुपर्ने व्यवस्थाविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चैत ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै उक्त प्रावधान तत्काल कार्यान्वयन नगर्न भनेको थियो।
आइतबार न्यायाधीशद्वय राउत र सुवेदीको इजलासमा रिटमाथिको पेसी अन्तिमतिर रहेको छ। मुद्दा 'ढ' नम्वरमा पेसीमा रहेको छ ।
क्रमसंख्यानुसार मुद्दाको पेसी निकै तल भएकाले आइतबार सुनुवाइ हुने सम्भवना भने कम छ।
आचारसंहितामा भएको उक्त प्रावधान कार्यान्वयन नगर्न भनेर जारी भएको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले पनि भ्याकेट निवेदन दिएको थियो। उक्त निवेदन पनि साथै राख्न आदेश भएको छ।
आयोगले दायर गरेको भ्याकेटको निवेदनमा अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्दै न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले 'अन्य आदेश' जारी गरेको थियो।
निर्वाचनमा सरकारी खर्चको दुरुपयोग नहोस् र पदको लाभ लिएर जनप्रतिनिधिहरुले निर्वाचन प्रभावित नपारुन् भनेर आचारसंहितामा यस्तो व्यवस्था राखिएकाले अन्तरिम आदेश जारी गरेर रोक्न जरुरी नहुने निर्वाचन आयोगको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।