काठमाडौं- रुसको रक्षा मन्त्रालयले अघिल्लो साता डुबेको आफ्नो नौसैनिक पानीजहाजका चालक दलको तस्बिरहरु सार्वजनिक गरेको छ।
मिति नखुलाइएको उक्त भिडिओमा सयौँ नाविकहरूलाई परेड मैदानमा देखाइएको छ र उनीहरूलाई रुसी नौसेनाका प्रमुख एडमिरल निकोले येभमेनोभले निरीक्षण गरिरहेको देखिएको बीबीसीले जनाएको छ। उक्त पानीजहाजमा करिब ५०० फौज रहेको बताइएको छ।
रुसले उक्त जहाज आगलागीपछि विस्फोट भएपछि डुबेको बताउँदै आएको छ। तर युक्रेनले भने आफूहरुले आक्रमण गर्दा जहाज डुबेको दाबी गरेको छ।
यसअघि बिहीबार अबेर रुसको रक्षा मन्त्रालयले विस्फोटक पदार्थ पड्किएपछि भएको आगलागीपछि खराब मौसमका माझ मस्क्भा डुबेको जनाएको थियो। मस्क्भा नामक उक्त लडाकु पानीजहाजमाथि आफूले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो।
उक्त नौसैनिक पानीजहाज डुबेपछि त्यसका चालक दलका सदस्यहरूको तस्बिर देखा परेको यो पहिलो पटक हो। ठूलो सङ्ख्यामा नाविकहरूको समूह क्राइमियाको बन्दरगाह शहर सेभास्टपोलमा परेड गरिरहेको देखाइएको छ।
मस्क्भा नामक उक्त पानीजहाज रुसी सेनाको ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक रहेको थियो। उक्त पानी जहाज डुब्नुलाई रुसी सेनाको प्रतिष्ठामा ठूलो धक्काका रूपमा व्याख्या गरिएको थियो। रुसले त्यसबेला चालक दलका सदस्यहरूलाई सन् २०१४ मा युक्रेनबाट गाभिएको क्राइमियामा अवस्थित सेभास्टपोल बन्दरगाहमा लगिएको जनाएको थियो।
उक्त पानीजहाजका नौ सैनिक जीवित रहेको प्रमाण सार्वजनिक गरिएको यो पहिलो घटना हो। त्यस्ममा नौ सेनाका प्रमुख येभमेनोभ र दुई जना अधिकृतहरू करिब १ सय नाविकको अगाडि उभिएको देखाइएको छ।
तर त्यसको मिति भने प्रस्ट भइसकेको छैन। भिडिओको अन्त्यमा देखाइएको अन्तरवार्तामा एडमिरल येभमेनोभले सेभास्टपोलस्थित आफ्नो शिविरमा अधिकृत र चालक दलका सदस्यहरू अहिले बसिरहेको भन्दै उनीहरूले नौ सेनामा सेवा गरिरहने भनिएको छ।
रुसले पानीजहाजमा भएको आगलागी वा मस्क्भा डुब्दा कुनै हताहाती भएको विवरण दिएको छैन। तर एक जना परिचय नखुलाएका अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले हाताहती भएको विश्वास वाशिङ्टनले गरेको उल्लेख गरेका छन्। युक्रेनले उक्त पानी जहाजका कप्तान एनटोन कुप्रिनको ज्यान गएको भनेको छ तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
१२ हजार ४९० टनको उक्त नौ सैनिक पानीजहाज दोस्रो विश्वयुद्ध यता फौजी कारबाहीका क्रममा डुबेको सबैभन्दा ठूलो रुसी सैनिक पानीजहाज हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।